काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा सरकारले ८५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ भने ४६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार यो रकम वार्षिक लक्ष्यको आम्दानीतर्फ ५.५६ प्रतिशत र खर्चतर्फ २.३६ प्रतिशत हो।
यस वर्ष सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने र राजस्वबाट १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। बाँकी खर्च आन्तरिक तथा बाह्य ऋणमार्फत व्यवस्थापन गर्ने सरकारको योजना छ ।

कर राजस्व प्रमुख आम्दानी स्रोत
साउन महिनामा मात्रै कर राजस्वबाट ८० अर्ब ६७ करोड रुपैयाँभन्दा बढी संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ६.०९ प्रतिशत हो। चालु आर्थिक वर्षमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख कर राजस्व संकलन गर्ने लक्ष्य छ।
यस्तै, गैरकर राजस्वबाट ३ अर्ब ७९ करोड ५० लाख (२.४६ प्रतिशत) संकलन भएको छ। यस शीर्षकमा एक खर्ब ५४ अर्ब ४१ करोड उठाउने लक्ष्य छ। वैदेशिक अनुदानतर्फ साउनमा ४२ करोड १९ लाख र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख रुपैयाँ आएको छ, जुन वार्षिक लक्ष्यको ०.७९ प्रतिशत मात्र हो। यस वर्ष कुल ५३ अर्ब ४४ करोड बराबरको वैदेशिक अनुदान आउने सरकारको अपेक्षा छ ।
वित्तीय व्यवस्थापनमा खर्च बढी
कुल १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेटमध्ये साउन मसान्तसम्म ४६ अर्ब ३० करोड ६१ लाख खर्च भएको छ।
चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा १.५६ प्रतिशत अर्थात् १८ अर्ब ४७ करोड ९८ लाख खर्च भएको छ।
पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख मध्ये ०.१८ प्रतिशत अर्थात् ७२ करोड ६३ लाख मात्र खर्च भएको छ।
सबैभन्दा ठूलो खर्च वित्तीय व्यवस्थापन (ऋणको किस्ता भुक्तानी)तर्फ भएको छ। यो शीर्षकमा मात्रै २७ अर्ब १० करोड खर्च भएको छ, जुन कुल लक्ष्यको ७.२२ प्रतिशत हो। यस वर्ष वित्तीय व्यवस्थापनका लागि कुल ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख खर्च गर्ने योजना सरकरको छ।
