बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि केन्द्रीय बैंकले आज पनि बजारबाट रकम प्रशोचन गर्न लागेको हो ।
राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता भयो भने ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत पैसा तान्ने गर्छ ।
आज पनि निक्षेप संकलन बोलकबोल मार्फत २५ दिनको लागि ३० अर्ब रुपैयाँ तान्न लागेको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन् ।
निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ भने साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले कम्तिमा १० करोड रुपैयाँ र त्यो भन्दा बढी ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आव्हान रकमसम्म आवेदन गर्न सक्नेछन् ।
