बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा अधिक तरलता भएपछि हरेक साता बजारबाट अर्बौं रुपैयाँ तान्दै आएको छ ।
अहिले बैंकिङ प्रणालीमा ९ खर्ब रुपैयाँ भन्दा धेरै लगानीयोग्य पैसा छ । निक्षेप बढीरहने तर कर्जाको माग न्यून हुने अवस्थाका कारण प्रणालीमा लगानीयोग्य पैसा थुप्रिदै गएको हो ।
राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २५ दिनका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ सफ्टवेयर मार्फत दिउँसो ३ बजेभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।
निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । निक्षेपको साँवा तथा ब्याज भुक्तनी असोज ५ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल अह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।
