काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेर करिब २ लाख ८ हजार रुपैयाँ पुगेको छ । केही दिनयता सुनको मूल्य दैनिक रुपमा बढीरहेको छ । सुनको मूल्य बढ्नुका धेरै कारण छन् । सामान्यतया विश्व अर्थतन्त्र, वित्तीय बजार र भूराजनीतिक घटनाहरूले सुनको मूल्यमा प्रत्यक्ष असर पार्छ । अहिले सुनको मूल्य बढ्नुका प्रमुख कारणहरु यसप्रकार छन् ।
१. विश्व अर्थतन्त्रमा अनिश्चितताः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका व्यापारिक साझेदार देशहरुमाथि लगाएको ट्यारिफ र ठूला देशबीचको व्यापार युद्धको डरका कारण, लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिको रूपमा सुन किनिरहेका छन् । अस्थिर आर्थिक अवस्था, जस्तै मन्दी, महँगाई वा बैंकिङ प्रणालीमा संकट आउँदा लगानीकर्ताले सुरक्षित सम्पत्ति भनेर सुनमा लगानी बढाउँछन्।
२. डलरको तुलनामा रुपैयाँ कमजोर हुनुः खासगरी नेपाली बजारमा डलर तिरेर सुन खरिद गरि ल्याउने गरिन्छ । त्यसैले डलर महँगो बन्दा सुन पनि महँगो हुन्छ । तर बाह्य बजारमा यो नियम लागू हुँदैन । किनभने सुनको मूल्य प्रायः अमेरिकी डलरमा तोकिन्छ। जब डलर कमजोर हुन्छ, सुनको मूल्य बढ्ने सम्भावना हुन्छ किनभने अरू मुद्रामा किन्नेहरूको माग बढ्छ।
३. ब्रिक्स करेन्सीको चर्चाः विश्व व्यापारमा अहिलेसम्म अमेरिकी डलर प्रयोग धेरै हुन्छ । व्यापारमा अमेरिकी डलरको निर्भरता हटाउन, भारत, चीन, रसिया, फ्रान्स जस्ता ठूलो अर्थतन्त्र भएका मुलुक सहभागी ब्रिक्सले आफ्नै करेन्सी निर्माण गर्ने चर्चा बढेको छ । यदि ब्रिक्स करेन्सी बन्यो भने अमेरिकी डलर अवमूल्यन हुने डरले अहिले नै लगानीकर्ताहरु डलर बिक्री गरी सुनमा लगानी गर्न थालेका छन् । जसको कारण सुन महँगो बनिरहेको छ ।
४. केन्द्रीय बैंक खरिदः चीन र रुस जस्ता देशहरूले ठूलो मात्रामा सुन खरिद गरिरहेका छन्, जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढिरहेको छ।
५. युद्ध र तनावः रुस युक्रेन युद्ध, मध्यपूर्वमा भइरहेको युद्धको कारणले उत्पन्न अस्थिरताले मानिसहरूलाई सुनमा लगानी गर्न प्रेरित गरिरहेको छ। युद्ध, राजनीतिक तनाव, वा अन्तर्राष्ट्रिय अस्थिरताका कारण लगानीकर्ताले सुरक्षित विकल्पका रूपमा सुनमा पैसा लगाउँछन्, जसले मूल्य बढाउँछ।
६. मुद्रास्फीति र कम ब्याजदरः अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भबाट मुद्रास्फीति र कम ब्याजदरको डरले पनि हिजोआज लगानीकर्ताहरु सुनमा आकर्षित भइरहेका छन् ।
संक्षेपमा भन्नुपर्दा, सुनको मूल्य बढ्नुको मुख्य कारण भनेको आर्थिक अनिश्चितता, डलर कमजोर हुनु, महँगाई, राजनीतिक अस्थिरता र माग–आपूर्तिको असन्तुलन हो।
