काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान ८ बजेदेखि लागू हुनेगरी चक्रपथ क्षेत्रभित्र अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र बिहान ८ बजेदेखि कर्फ्यु लगाइएको आदेश जारी गरेका छन् ।
सोमबार जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो ।
प्रशासनले काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाएको हो ।
आदेशमा कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारीसाधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारीसाधनहरु, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारीसाधनहरु, बाहेक सबैलाई आउजाउ गर्न रोक लगाइएको छ । यस्तै, हवाई यात्रुको आवागमनमा सुरक्षकर्मीहरुबाट सहजीकरण हुने आदेशमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि वडा नं. २, ४, ९, १८ र २५ भित्रका चार किल्ला तोकी सो सिमानाभित्र कसैले पनि आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, प्रदर्शन, सभा बैठक वा घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताका युवाहरुले हिजो (सोमबार) काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो भने करिब ४०० जना घाइते भएका छन् ।

