काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ललितपुर खुमलटारस्थित निवासमा मंगलबार जेनजी आन्दोलनकारीले आगजनी गरेका छन्।
बिहानदेखि ढुंगामुडा भइरहेका घटनापछि दिउँसो प्रदर्शनकारीले घरमा आगजनी गरेका हुन्। घटनास्थलमा नियन्त्रण लिन पुगेको प्रहरीले गोलीसमेत चलाएको स्थानीयवासीले बताएका छन्।
जेनजी आन्दोलनको दोस्रो दिन राजधानीसहित विभिन्न ठाउँमा शीर्ष नेताहरुको घरलाई लक्षित गर्दै आक्रमण बढिरहेको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घर, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासलगायत मन्त्री तथा सांसदका घरहरुमा पनि तोडफोड र आगजनी भएको छ।
यस्तै, ललितपुर भैसेपाटीस्थित नयाँ मन्त्री आवास तथा प्रदेश प्रमुखको निवासमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। स्थिति नियन्त्रण गर्न नेपाली सेनाले हेलिकप्टरमार्फत मन्त्रीहरुको उद्धार गरी आफ्नै ब्यारेकमा लगेको बताइएको छ।
