काठमाडौँ । देशको राजधानी काठमाडौँको सुरक्षा व्यवस्था जेनजी आन्दोलनको दोस्रो दिन पूर्ण रूपमा नियन्त्रण बाहिर पुगेको छ।
आन्दोलनकारी युवाहरुले राजनीतिक दलका पार्टी कार्यालयदेखि शीर्ष नेताहरुका निजी निवाससम्म तोडफोड र आगजनी जारी राखेका छन्। अग्रपंक्तिमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी अवस्था नियन्त्रण गर्न असफल भएपछि परिस्थिति थप जटिल बन्दै गएको छ।
प्रहरीले नियन्त्रणमा लिन नसकेपछि अब नेपाली सेनाले प्रत्यक्ष रूपमा हस्तक्षेप गर्ने सम्भावना बढेको छ। सेनाले मंगलबारै ललितपुरको भैसेपाटीस्थित संघीय मन्त्री आवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमार्फत उद्धार गरी ब्यारेकमा लगिसकेको छ।
आन्दोलनको उग्र रूपसँगै राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घर, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित घर, एमाले महासचिवको निवासलगायत कैयौं मन्त्री र सांसदका घरमा तोडफोड र आगजनी भएको पुष्टि भएको छ।
