काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी संगठन र नेतृत्वको पुनर्गठन नयाँ ढंगले गर्न प्रस्ताव गरेका छन् । भट्टराईले सामाजिक सञ्जालमा पोस्ट गर्दै अहिले देश इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको भन्दै समाजमा देखिएको भयानक अस्थिरताको बीचमा विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरेर भएका कमजोरीको समीक्षा गर्दै ग़ल्ती आत्मालोचित गर्नुपर्ने बताएका छन् ।
उनले देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनुपर्ने बताएका हुन् ।
भट्टराईले देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्ने बताएका छन् ।
उनले १० बुँदे धारणा सार्बजनिक गर्दै भनेका छन्ः
प्रिय कमरेडहरू
हामी यतिवेला इतिहासकै गंभीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्याउडैन । तसर्थः
१. विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौं हामीबाट भएका कमजोरीको समीक्षा गरौं । ग़ल्तीप्रति आत्मालोचित होऔं ।
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौंं । यो काम होशियारी पूर्वक गरौंं । जसले हाम्रो पार्टी एकता कायम गरोस ।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौंं ।
४. पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔं ।
५ं जनतामा जाऔं, जनतालाई सुनौं र त्यस अनुसार निर्णय गरौं ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया बाँया नजाऔं ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौं ।
८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔं ।
९. देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । बिश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौं ।
१०. जेनजी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौं । नेपाल बचाऔं, नेपालीत्व जोगाऔं ।
