काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालको घटनाक्रमका कारण भएको क्षतिको बीमा दाबीलाई छिटो र सहज रूपमा फछ्र्यौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
भदौ २३ पछि देशभर भएका तोडफोड र आगजनीका घटनाले निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै प्राधिकरणले बिहीबार परिपत्र जारी गरेको हो। बीमा कम्पनीलाई क्षतिको प्रारम्भिक विवरण तुरुन्त संकलन गर्न र दाबी प्रक्रियामा ढिलाइ नगर्न भनिएको छ।
प्राधिकरणले दाबी परेपछि सोको विवरण एक्सेल वर्कसिटमा भरेर गुगल फारममार्फत पेश गर्नुपर्ने व्यवस्था पनि गरेको छ। अहिले यकिन तथ्यांक नआए पनि वातावरण सामान्य बनेपछि बीमा दाबी उच्च संख्यामा आउन सक्ने अनुमान गरिएको छ।
समयमै दाबी फछ्र्यौट भए प्रभावितलाई राहत पुग्ने भएकाले बीमा कम्पनीलाई विशेष सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
