काठमाडौं । नयाँ सरकार गठनका सम्बन्धमा आज बिहान ९ बजेका लागि तय गरिएको राष्ट्रपति कार्यालय शीतल निवासको छलफल अझै सुरु भएको छैन। स्रोतका अनुसार आन्तरिक परामर्शका लागि छलफलको समय दिउँसो २ बजेसम्मका लागि सारिएको छ।
गएराति अबेरसम्म भएका राजनीतिक र कानुनी छलफलहरूमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनिसकेको बताइएको थियो। तर, संसद विघटनको विषयमा पूर्ण सहमति नजुटेकाले आजको बैठक निर्णायक हुने अपेक्षा गरिएको थियो। तर राष्ट्रपति रामचन्द्र पौडेलले निर्णय गर्न ढिलाइ गरेपछि देशभर अनिश्चितता छाएको छ।
निर्णय नलिँदा शक्ति संघर्षलाई बढावा
राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रपतिबाट अपेक्षित निर्णय नआउँदा सिङ्गो मुलुक अनिर्णयको बन्दी बनेको छ। यसैबीच, विभिन्न शक्ति केन्द्रहरूले चलखेल गर्न थालेका छन्, जसले राजनीतिक वातावरणलाई अझ अन्योलपूर्ण बनाइरहेको छ।
जेनजीको दबाब र माग
युवाहरुको समूह हामी नेपालका अनुसार राष्ट्रपतिले जेनजी आन्दोलनका मागमा चासो नदिएको भन्दै उनीहरू आन्तरिक रूपमा रणनीति निर्माणमा जुटिरहेका छन्। उनीहरूले संसद विघटन, अन्तरिम सरकारको गठन, र चाँडै नयाँ जनादेश लिने प्रक्रिया सुरु गर्नुपर्ने माग राखेका छन् ।
गहिरिँदै राजनीतिक परामर्श
बिहीबार दिनभर र राति अबेरसम्म राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सुशिला कार्की र वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालसँग गहन छलफल गरेका थिए। छलफलमा अन्तरिम सरकारको नेतृत्व, संसद विघटन, र सम्भावित संक्रमणकालीन व्यवस्थाबारे व्यापक बहस भएको थियो।
राष्ट्रपति पौडेलले केवल जेनजी समूह मात्र होइन, संवैधानिक विज्ञ र प्रमुख राजनीतिक दलका नेताहरूसँग पनि छलफललाई तीव्रता दिएका छन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग पनि परामर्श भइसकेको स्रोतले जनाएको छ।
छलफलमा सहभागी नेताहरूले संविधानको मौलिक मर्मअनुसार सुशिला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन सकिने धारणा राखेका छन्। तर संसद विघटनका विषयमा राष्ट्रपति अझैसम्म निर्णायक निष्कर्षमा पुगेका छैनन्।
अब के हुन्छ ?
छलफल दिउँसो २ बजेका लागि सारिएको छ। त्यसपछि राष्ट्रपति कार्यालयबाट औपचारिक निर्णय आउने अपेक्षा गरिएको छ। तर हालको अनिश्चित राजनीतिक अवस्थाले जनतामा निराशा र तनाव फैलिएको छ। सबैको नजर अब राष्ट्रपति पौडेलको आगामी कदमतर्फ केन्द्रित छ ।
