काठमाडौँ । जेनजी प्रदर्शनबाट काठमाडौं उपत्यकासहित देशभरका अधिकांश होटल उद्योगमा तोडफोड र आगजनी भएको छ । जसबाट ठूलो क्षति पुगेको छ । नेपाल होटल संघ (हान) ले दिएको प्रारम्भिक तथ्यांकअनुसार कम्तीमा २५ वटा होटल, रिसोर्ट, लज र रेष्टुरेन्टमा तोडफोड र आगजनी भएको छ । जसको क्षति अनुमान २५ अर्ब रुपैयाँ भन्दा बढी गरिएको छ ।
हानका अनुसार काठमाडौं र पोखरामा सबैभन्दा धेरै होटल व्यवसायमा क्षति पुगेको छ । त्यसपछि भैरहवा, बुटवल, धनगढी, झापा, दाङ, बर्दिबासलगायतका क्षेत्रमा पनि होटल उद्योग प्रभावित भएका छन् ।
आगजनी र तोडफोडका कारण करिब २ हजारभन्दा बढी कामदार प्रत्यक्ष प्रभावित भएका छन् । हानले आगजनी भएका होटलहरु यस सिजनमा सञ्चालनमा आउन नसक्ने ठहर छ ।
क्षति भएका होटलमध्ये करिब ६० प्रतिशतले बीमाबाट आंशिक क्षतिपूर्ति पाउने सम्भावना रहेको हानले जानकारी दिएको छ ।
