काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् ।
अध्यक्ष कमलेश कुमार अग्रवालसहितको टोलीले बिहीबार गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा भेटवार्ता गरि निजी लगानी सुरक्षित एवं लगानीकर्तामा विश्वास जगाउन माग गरेका हुन् ।
आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको र यस्ता घटनाले व्यवसाययिक वातावरणमा नकारात्मक असर पर्न गएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।
देशको अर्थतन्त्रमा निजी क्षेत्रको लगानी ८१ प्रतिशत भन्दा बढी रहेको ले अहिले जेनजी आन्दोलनको क्रममा ठूलो क्षति पुगेकोले अब सम्पत्ति सुरक्षण र व्यवसायिक स्थिरताका लागि शान्तिपुर्ण वातावरण आवश्यक परेको अग्रवालले बताए ।
चेम्बरद्धारा गृहमन्त्री अर्याललाई दिइएको सुझावमा भनिएको छ, ‘आर्थिक क्षेत्रको सुरक्षा, डिजीटल सुरक्षा तथा संकट व्यवस्थापन सम्वन्धी तालिम सुरक्षा निकायलाई उपलव्ध गराउन आवश्यक देखिएको छ ।’
आर्थिक सुरक्षासंग सम्वन्धित जनचेतनामुलक कार्यक्रम संचालन गर्न पनि चेम्बरले सुझाव दिएको छ । चेम्बरले आन्दोलनका क्रममा भएको सरकारी सम्पत्तिको पुननिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गृहमन्त्री अर्याल समक्ष व्यक्त गरेको छ ।
यसैबीच नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले आन्दोलनका क्रममा क्षतिग्रस्त नक्सालको भाटभटेनी सुपरमार्केटमा स्थलगत अवलोकन गरेको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङलाई भेटी चेम्बर पदाधिकारी टोलीले भाटभटेनीमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
