बैंकको खबर । बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति कायमै रहेपछि नेपाल राष्ट्र बैंकले १२ दिनका लागि ९० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आज सो रकम खिच्न लागेको हो ।
निक्षेप उपकरणको ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी आगामी कात्तिक २ गते हुनेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थताले कन्तिमा १० करोड रुपैयाँ र अधिकतम ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
अहिले बैंकिङ प्रणालीमा निक्षेप बढेर ७४ खर्ब रुपैयाँ पुगेको छ । तर कर्जा लगानी जम्मा ५६ खर्ब ४० अर्ब रुपैयाँ मात्र छ । कर्जा निक्षेप अनुपात ७५.२१ प्रतिशत छ । यसआधारमा बैंक तथा वित्तीय संस्थासँग १० खर्ब रुपैयाँ भन्दा बढी लगानीयोग्य रकम देखिन्छ । उद्योग व्यवसाय सुस्त भएको र घरजग्गा कारोबारमा पनि मन्दी रहेकाले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग न्यून छ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।
