काठमाडौं । यस वर्षको मनसुन र त्यसपछि आएका बाढीपहिरोले देशभरका सडक संरचनामा ठूलो क्षति पु-याएको छ। ती संरचनाहरूको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, बाढीपहिरोबाट प्रभावित मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज, र स्थायी पुलहरूको पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको हो।
सबैभन्दा बढी क्षति मेची राजमार्गमा भएको छ, जसको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ आवश्यक पर्ने मन्त्रालयले जनाएको छ।
त्यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, र नारायणघाट–मुग्लिङ मार्गसहित अन्य राजमार्गहरूमा भएको क्षतिपूर्ति तथा पुनर्निर्माणका लागि ३ अर्ब ७७ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
यसका साथै, १७ वटा स्थायी पुल पुनर्निर्माणमा ४ अर्ब ५२ करोड रुपैयाँ, बेलिब्रिज निर्माणमा ८० करोड रुपैयाँ, र वैकल्पिक सडकहरू पुनर्निर्माणमा १ अर्ब ५९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
