काठमाडौं । बैंकिङ प्रणालीमा तरलता (लिक्विडिटी) अत्यधिक बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ।
आज असोज २२ गते, बुधबार राष्ट्र बैंकले ११ दिनका लागि निक्षेप संकलन उपकरणको माध्यमबाट उक्त रकम तान्न लागेको हो।
यसअघि मंगलबार राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ निक्षेप आह्वान गरेकोमा बैंक तथा वित्तीय संस्थाहरूबाट ७४ अर्ब ५५ करोड रुपैयाँ संकलन भएको थियो।
नयाँ निक्षेप संकलन प्रक्रियाका लागि बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोल पेश गर्न सक्नेछन्।
बैंकहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्बले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् । सङ्कलित निक्षेपको साँवा र ब्याज आगामी कात्तिक २ गते भुक्तानी हुनेछ।
राष्ट्र बैंकले प्रणालीमा पैसा धेरै भएको अवस्थामा तरलता संकलन गरेर बैंकिङ प्रणालीमा सन्तुलन ल्याउने प्रयास गर्दै आएको हो।
