बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनहरुमा केही अनाधिकृत व्यक्तिहरूले बैंकको नाममा ग्राहकहरूलाई फोन गरी ठगी गरेको भन्दै सचेत हुन आग्रह गरेको छ । बैंकले सूचना जारी गर्दै अनाधिकृत व्यक्तिहरुले बैंकबाट फोन गरेको भन्दै व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा बताइ आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको सूचना प्राप्त भएकोले यसतर्फ बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै पनि कुनैपनि प्रयोजनका लागि फोन, इमेल, सामजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटीएम् पिन, मोबाइल बैंकिङ तथा ई बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण नमागिने बैंकले स्पष्ट पारेको छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई अनाधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न अनुरोध पनि गरेको छ ।
कहिंकतै कुनै माध्यमबाट शंकास्पद गतिविधि भए गरेको पाइएमा नजिकैको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । बैंकका आधिकारिक सूचना, अफर तथा योजनाहरू बैंकको आफ्नै वेबसाइटबाट प्रकाशित गर्ने गरिएको पनि बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक ग्राहकहरूको सुरक्षित बैंकिङ कारोबारका लागि प्रतिबद्ध रहँदै आएको र यस्ता ठगीजन्य क्रियाकलाप विरुद्ध सचेत एवं सजग रहन पनि आग्रह गरेको छ ।
