काठमाडौं । नोबेल शान्ति पुरस्कारको घोषणा आज नर्वेको राजधानी ओस्लोमा हुँदैछ। नेपाली समय अनुसार करिब २ः४५ बजे नोबेल समितिले यस बर्षको शान्ति पुरस्कारको घोषणा गर्दैछ ।
यस वर्ष कुल ३३८ जनालाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको छ जसमा २४४ जना व्यक्ति र ९४ वटा संस्था छन्।
यी सबैबीच अहिले सबैभन्दा धेरै चर्चा पाएका उम्मेदवार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । उनले धेरैपटक सार्वजनिक रूपमै आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गर्दै आएका छन् । ट्रम्पको भनाइ अनुसार उनले भारत र पाकिस्तानबीच सम्भावित युद्ध रोक्न मद्दत गरेका थिए, साथै विश्वका सातवटा युद्ध टार्न भूमिका खेलेका छन् । तर विज्ञहरू भने यसमा ढुक्क छैनन्। उनीहरूको भनाइमा ट्रम्पले जित्ने सम्भावना खासै उच्च छैन।
अन्य चर्चित मनोनयनहरूमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान, टेस्ला प्रमुख एलोन मस्क, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, र गत अप्रिलमा निधन भएका पोप फ्रान्सिसको नाम पनि समावेश छ।
पाकिस्तान र इजरायल जस्ता कट्टर प्रतिद्वन्द्वीहरूले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका थिए । पाकिस्तानले भारतसँगको युद्धविराममा ट्रम्पले भूमिका खेलेको दाबी गरेको छ भने इजरायलले इरानसँगको युद्धमा युद्धविरामको लागि ट्रम्पलाई मनोनयन गरेको छ ।
यो पुररुकार जित्ने विजेताले १ करोड १० लाख स्विडिश क्रोनर (करिब १६७ करोड नेपाली रुपैयाँ), एउटा स्वर्ण पदक र प्रमाणपत्र पाउने छन्। यदि पुरस्कार संयुक्त रूपमा दिइयो भने, रकम विजेताहरूबीच बाँडिनेछ।
पुरस्कार डिसेम्बर १० मा ओस्लोमा औपचारिक रूपमा प्रदान गरिनेछ।
२०२५ को नोबेल शान्ति पुरस्कारको लागि मनोनयनको अन्तिम मिति जनवरी ३१, २०२५ थियो । नर्वेजियन नोबेल समितिको नियम अनुसार, २०२५ को नोबेल पुरस्कारको लागि यस मिति पछि प्राप्त कुनै पनि मनोनयन स्वीकार गरिएको छैन । मनोनयन प्रक्रिया प्रत्येक वर्ष फेब्रुअरी १ मा सुरु हुन्छ, र त्यो मिति सम्म प्राप्त मनोनयनहरू मात्र मान्य हुन्छन् । ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए, त्यसको ११ दिनपछि नै मनोनयन प्रक्रिया बन्द भएको थियो ।
ट्रम्पको सम्भावना अर्को वर्ष बलियो हुन सक्छ
ट्रम्पले हालै गाजा युद्धविराम योजनाको अनावरण गरेका छन्, जसलाई इजरायल र हमास दुवैले अनुमोदन गरेका छन्। ट्रम्पले यसलाई उपलब्धिको रूपमा दाबी गरिरहेका छन्।
यद्यपि, विज्ञहरू भन्छन् कि गाजामा ढिलाइ भएको शान्ति सम्झौताले यस पटक ट्रम्पलाई जित्न गाह्रो बनाएको छ। नोबेल समितिकी नीना ग्रेगरले भनिन् कि गाजा युद्धविरामले नोबेल निर्णयलाई असर गर्दैन, तर यदि शान्ति दिगो रह्यो भने, यसले अर्को वर्ष ट्रम्पको दाबीलाई बलियो बनाउन सक्छ।
