बैंकको खबर । नेपाल राष्ट्र बैंकले धन्तेरस पर्वलाई लक्षित गर्दै चाँदीका सिक्काहरूको बिक्री सुरु गरेको छ। काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अङ्कित १० ग्राम तौलका चाँदी सिक्का बिक्री थालिएको हो।
महाशाखाका अनुसार प्रत्येक सिक्काको मूल्य ३२ सय रुपैयाँ निर्धारण गरिएको छ।
हरेक वर्ष धन्तेरसको अवसरमा राष्ट्र बैंकले सुन र चाँदीका सिक्काहरू बिक्री गर्दै आएको थियो। तर, यस वर्ष केन्द्रीय बैंकको सञ्चालक समितिबाट सुनको असर्फी छपाइ सम्बन्धी निर्णय नभएको हुँदा केवल चाँदीका सिक्कामात्र बिक्रीमा ल्याइएको महाशाखाले जानकारी दिएको छ।
सिक्का बिक्री सुरु भएसँगै सर्वसाधारण लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित चाँदी सिक्का किन्न टक्सार महाशाखा पुगिरहेका छन्।
