काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (२०८२ कात्तिक १२ गते बुधवार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १७५ दिनको लागि सो रकम तान्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।
अहिले प्रणालीमा ७५ खर्ब रुपैयाँ भन्दा धेरै निक्षेप पुगेको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । यो निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ वैशाख ९ गते हुने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।
राष्ट्र बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ ।
यही व्यवस्था टेकेर केन्द्रिय बैंकले निक्षेप संकलन उकरण प्रयोग गरि बजारबाट पैसा तान्दै आएको छ ।
