बैंकको खबर । बैंक तथा वित्तीय संस्थामा निक्षेप तीव्र गतिमा बढ्दै गए पनि कर्जाको माग सुस्त भएपछि प्रणालीमा दबाब बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ असोज मसान्तसम्मको तथ्यांकअनुसार कुल निक्षेप ७५ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।
असोज ३० गतेसम्म निक्षेप ७४ खर्ब ६६ अर्ब रुपैयाँ रहेकोमा असोज ३१ गते एकैदिनमा ४८ अर्ब रुपैयाँले वृद्धि भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।
वाणिज्य बैंकहरूले असोज मसान्तसम्म ६७ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप सात खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ।
तर, निक्षेप वृद्धि सँगै कर्जाको विस्तार भने सुस्त छ। असोज ३१ गते मात्र ३० अर्ब रुपैयाँ कर्जा प्रवाह भए पनि कुल लगानीको वृद्धि दर अपेक्षाकृत कम रहेको तथ्यांकले देखाउँछ।
असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा लगानी ५६ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरूले कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ। तर कर्जाको माग कमजोर रहेकाले हाल बैंकहरूले जम्मा ७४.६३ प्रतिशत मात्रै लगानी गर्न सकेका छन्।
यस अवस्थाले प्रणालीमा ११ खर्ब १४ अर्ब रुपैयाँ जति लगानीयोग्य रकम निष्क्रिय रूपमा रहेको देखिन्छ। बजारमा तरलता अत्यधिक नबढोस् भनेर राष्ट्र बैंकले पछिल्ला दिनमा प्रणालीबाट निरन्तर पैसा तानेर नगद प्रवाह सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ।

