काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इक्रा नेपालबाट ‘डबल ए माइनस (ICRANP-IR AA-)’ क्रेडिट रेटिङ प्राप्त गरेको छ। यो रेटिङ अत्यन्त उच्च स्तरको सुरक्षासहित वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त संस्थालाई दिइन्छ। यस श्रेणीको रेटिङ पाउने नेपाल लाइफ देशको पहिलो जीवन बीमा कम्पनी बनेको छ।
इक्रा नेपालले कम्पनीको वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै दायित्व पूरा गर्ने क्षमताका आधारमा यो रेटिङ प्रदान गरेको हो। सन् २००१ मा स्थापना भएको नेपाल लाइफले हाल देशभर १९० भन्दा बढी शाखामार्फत सेवा विस्तार गरेको छ। आ.व. २०८१/८२ को असार मसान्तसम्म कम्पनीले कुल बीमा शुल्कको हिसाबले २७% भन्दा बढी बजार हिस्सा कायम गर्न सफल भएको छ।
कम्पनीको सोल्भेन्सी अनुपात १५०.४०% रहेको छ, जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम सीमा भन्दा निकै माथि हो। लगानीको लगभग ९४% भाग स्थिर ब्याजदर भएका उपकरणहरूमा गरिएको छ, जसले औसत १०.०२% प्रतिफल प्रदान गरेको छ। आ.व. २०८०/८१ मा कम्पनीले रु. २.१२ अर्ब खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८% प्रतिफल कायम भएको छ।
जोखिम न्यूनीकरणका लागि कम्पनीले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन पुनर्बीमा लिमिटेड र जर्मनीस्थित ह्यानोभर रि सँग पर्याप्त पुनर्बीमा सम्झौता गरेको छ। अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थापन टोलीको नेतृत्वमा कम्पनीले ग्राहकको विश्वास, पारदर्शिता र दीर्घकालीन स्थायित्वलाई निरन्तर सुदृढ गर्दै आएको छ।
नेपाल लाइफको करिब ९८.८०% व्यवसाय सावधिक जीवन बीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्वमा टेवा पु¥याएको छ। आ.व. २०८१/८२ को अन्त्यसम्म कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ बराबरको विपद् कोष सुरक्षित राखेको छ, साथै २३३ अर्बभन्दा बढी जीवन बीमा कोष र २४० अर्बभन्दा बढी लगानी रहेको छ। यस अवधिसम्म कम्पनीले ६७ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो उपलब्धि कम्पनीको वित्तीय सुदृढता र बजारको विश्वासको प्रमाण भएको बताए। उनले कम्पनीलाई रेटिङ प्राप्त गर्न सहयोग गर्ने सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सरोकारवालाहरू सबैप्रति धन्यवाद व्यक्त गरे।
पराजुलीका अनुसार कम्पनी आगामी दिनमा पनि जोखिम व्यवस्थापन, लगानी विविधिकरण र उच्च प्रतिफल प्राप्तिका लागि अन्तर्राष्ट्रिय असल अभ्यासहरू अपनाउँदै वित्तीय स्थायित्व अझ मजबुत बनाउन प्रतिबद्ध छ।
