बैंकको खबर । मुक्तिनाथ विकास बैंक पनि अब वाणिज्य बैंक बन्ने भएको छ । बैंकको कात्तिक १५ गते पोखरामा बसेको वार्षिक साधारणसभाले वाणिज्य बैंकमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने निर्णय गरेको हो । अब यो बैंकले वाणिज्य बैंकमा स्तरोन्नति हुनका लागि प्रक्रिया सुरु गर्नेछ ।
यस्तै साधारणसभाले आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदन पारित गर्दै १३.५३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव स्वीकृत गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले विशेष प्रस्तावहरूको रुपमा बैंकको चुक्ता पूँजी ९ अर्ब ३ लाख ८८ हजार ७६७ रुपैयाँ ११ पैसा पु-याउने प्रस्ताव पनि पारित गरेको छ । सोहीअनुसार प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पूँजी वृद्धिपश्चात नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रक्रिया सुरु गर्नेछ ।
साधारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर विभिन्न शेयरधनीहरूबाट सल्लाह सुझाव र जिज्ञासाहरू प्राप्त भएको थियो । शेयरधनीहरूबाट आएका जिज्ञासाहरू बारेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रष्ट पारेका थिए ।
