बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (कात्तिक २६ गते बुधवार) बैंकिङ प्रणालीबाट १७५ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । प्रणालीमा अधिक रहेको तरलता नियन्त्रणमा नआएपछि केन्द्रीय बैंकले पटकपटक पैसा तानेर व्यवस्थापन गर्दै आएको छ ।
राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरण बोलकबोलमार्फत सो पैसा तान्न लागेको हो ।
बैंकिङ प्रणालीमा अहिले निक्षेप बढेर ७५ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । तर कर्जाको माग खासै बढ्न सकेको छैन । प्रणालीमा सवा ११ खर्ब रुपैयाँ भन्दा धेरै लगानीयोग्य पैसा थुप्रिएर बसेको छ ।
केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको हो ।
