काठमाडौं । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकिय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको आईपीओ निष्काशन गर्ने भएको छ । यो कम्पनीले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँमा आइपिओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले ३० लाख कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
मङ्सिर ०३ गते बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्टका तर्फबाट अध्यक्ष कदम केसी र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।
सारथी ग्रुप सहितको लगानी रहेको उक्त पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरुको लगानी रहेको छ । करिब ५७ रोपनी जग्गामा फैलिएको उक्त पार्क सबै उमेर समुहको लागि मनोरञ्जन लिने रमणिय पार्क हो । फिस्टेल ड्रिम पार्कमा वाटर पार्क, वेब पुल तथा साहसिक खेलहरु सहितको आनन्द लिन सकिने नेपालको हालसम्मकै सबैभन्दा ठुलो मनोरञ्जन पार्कको रुपमा रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो ।
