बैंकको खबर । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको शेयर घटाएर १ प्रतिशतमा कायम गर्ने भएको छ। बैंकको पुनर्संरचना प्रक्रियाअन्तर्गत २५ संस्थापक तथा १० सर्वसाधारण शेयरधनीको शेयर मूल्य १ प्रतिशतमा झार्न लागेको हो ।
राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूह, कर्णाली डेभलपमेन्ट बैंक नेपालगन्जले सार्वजनिक गरेको सूचनामा सम्पत्ति तथा दायित्व मूल्यांकन गर्दा बैंकको चुक्ता पुँजीमा ठूलो क्षति पुगेको र दायित्व सम्पत्तिले नथाम्ने अवस्था देखिएकाले शेयरमूल्य समायोजन गरिएको हो ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(ङ) को उपदफा (१) को खण्ड (च) र (ज) तथा दफा ८६(ज) बमोजिम नियमानुसार शेयर कटौती गरिने उल्लेख गरिएको छ। सूचनामा सबै सरोकारवालालाई उक्त निर्णयबारे जानकारी गराइएको छ।
२५ शेयरधनीका २१ लाख बढी कित्ता शेयर घट्ने
प्रकाशित सूचनाअनुसार, हाल बैंकमा २५ शेयरधनीका जम्मा २१ लाख ६० हजार ६४ कित्ता शेयर रहेको छ। एक प्रतिशतमा झारेपछि उनीहरूको शेयर संख्या घटेर करिब २१ हजार ६०.६१ कित्ता मात्र रहने छ।
राष्ट्र बैंकको यो कदमले समस्याग्रस्त बैंकको पुनर्संरचना प्रक्रियालाई अघि बढाउने अपेक्षा राखिएको छ।

