बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा तरलता अत्यधिक भण्डारण भइरहेको र सो रकम ऋणका रूपमा प्रवाह हुने सम्भावना कमजोर देखिएपछि केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत नगद व्यवस्थापन गर्न लागेको हो।
यसका लागि राष्ट्र बैंकले ८६ दिन अवधिको निक्षेप संकलन बोलकबोल निष्काशन गरेको हो । हाल बैंक तथा वित्तीय संस्थामा निक्षेप बढिरहेको तर कर्जाको माग भने कम भएकाले लगानीयोग्य रकम ११ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणाली प्रयोग गरी बोलकबोलमा सहभागी हुन सक्नेछन्। इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडले भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
बोलकबोल बहुब्याजदरमा हुनेछ र बहुबोलकबोल पनि गर्न सकिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउने छन्।
