बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (२०८२ मंसिर ११ गते बिहीबार)देखि एक सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले चलनचल्तीमा ल्याएका नोटहरु साविककै आकार र रंगमा छन् । यि नोटहरुको संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका छन्।
राष्ट्र बैंकका अनुसार यसअघि २०७६ असोज ७ गते सार्वजनिक गरिएको नोटमा ‘ओ/१८–०००००१’ देखि ‘क/३७–९९९९९९’ सम्मका नोट चलनचल्तीमा ल्याउने भनिए पनि अन्ततः ‘ओ/१८–०००००१’ देखि ‘क/१९०३४५००’ सम्मका नोट मात्र प्रचलनमा आएका थिए।
नयाँ नोटका प्रमुख विशेषताहरू
नोटको अग्रभागमा
१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको
२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।
३. नोटको मध्यभागमा नेपालको नक्सा रहेको ।
४. नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको । साथै, अशोक स्तम्भसँगै दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र Silver Metallic मा मायादेवीको चित्र रहेको ।
५. २ मि.मि. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको ।
६. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको ।
७. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको ।
नोटको पृष्ठभागमा
१. नोटको मध्यभागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको ।
२. नोटको मध्यभागमा एकसिङे गैंडाको माउ र बच्चाको चित्र रहेको ।
३. नोटको तल्लो भागको बोर्डरमा अङ्ग्रेजीमा ‘RUPEES ONE HUNDRED’ लेखिएको ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अङ्ग्रेजीमा ‘2024 A.D.’ लेखिएको
नयाँ सुरक्षण विशेषतासहित जारी गरिएको यो नोट क्रमशः बैंक तथा वित्तीय संस्थामार्फत बजारमा पुर्याइने राष्ट्र बैंकले जनाएको छ।
