बैंकको खबर । सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री सुरु गर्ने भएको छ। पहिलो चरणमा बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री गर्न लागेको हो ।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरका १७ करोड २३ लाख ८८ हजार रुपैयाँका १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत, अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर, प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले विदेशमा काम गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले मंसिर २५ देखि २९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसम्म लम्बिने बैंकले जनाएको छ ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।
