काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज (मंसिर २२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति पाएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागेको हो । शेयर किन्न चाहने लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तिर्नुपर्छ ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो। सोही मूल्यमा कम्पनीले सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन मंसिर २५ गतेसम्म हुनेछ । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा निष्काशन अवधि पुस ७ गतेसम्म लम्बिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।
रिलायन्स स्पिनिङ मिल नेपालका धागो उत्पादन गर्ने उद्योगहरूमध्ये रोजगार सृजनाका हिसाबले सबैभन्दा ठूलो उद्योग मानिन्छ। यस कम्पनीले आफ्नो उत्पादनको करिब ७० देखि ७५ प्रतिशत भारत, टर्की, भियतनाम, बेलायत (यूके) लगायतका मुलुकहरूमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवनकुमार गोल्याण र प्रबन्ध सञ्चालक अक्षय गोल्याण छन्।
सुनसरीको इटहरी स्थित खनार र दुहाबीमा उद्योग रहेको छ ।
