काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आज (पुस १३ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो।
यसमध्ये आयोजना प्रभावितका लागि ११ करोड ८५ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्नेछ । सो शेयर गोरखा जिल्लाका अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाहरु र लमजुङ्ग जिल्ला दुधपोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा दोर्दी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का स्थानीयले आवेदन दिन पाउनेछन् ।
त्यसपछि कुल १ करोड ४२ लाख २० हजार रुपैयाँबराबरको १ लाख ४२ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ ।
आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयले पुस २८ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा निष्काशन अवधि माघ १२ गतेसम्म लम्बिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आईपीओमा पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा निष्काशन अवधि पुस २८ गतेसम्म लम्बिनेछ ।
कम्पनीले निर्माण गरेको ९.०५ मेगावाटको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ छ । यो आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष ११ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ। आयोजनाले २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरेको थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment