अन्तर्राष्ट्रिय । डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तार हुँदै गएपछि भारतमा एटीएमको प्रयोग घट्दै गएको छ। तथ्यांकअनुसार बैंकहरूले सञ्चालन गर्दै आएका स्वचालित टेलर मेसिन (एटीएम) को संख्यामा गिरावट आएको छ ।
भारतीय रिजर्भ बैंक (आरबीआई)को प्रतिवेदनअनुसार सन् २०२५को अन्तिमसम्म देशभर एटीएमको संख्या २,५१,०५७ मा झरेको छ । जुन एक वर्ष अघिको तुलनामा करिब साढे दुई हजार कम हो । सन् २०२४ को अन्तिममा भारतमा एटीएमको संख्या २,५३,४१७ थियो ।
आरबीआईका अनुसार दैनिक कारोबारका लागि नगदभन्दा डिजिटल भुक्तानीका मध्यमहरु, जस्तैः मोबाइल बैंकिङ, युपिआई र कार्डको प्रयोग बढेपछि एटीएमको आवश्यकता क्रमशः कम हुँदै गएको हो।
प्रतिवेदनअनुसार निजी क्षेत्रका बैंकहरूले सबैभन्दा धेरै एटीएम बन्द गरेका छन्। निजी बैंकहरूको एटीएम संख्या ७९,८८४ बाट घटेर ७७,११७ मा झरेको छ ।
सार्वजनिक क्षेत्रका बैंकहरूको एटीएम संख्या पनि घटेको छ। ती बैंकहरूको एटीएम १,३४,६९४ बाट घटेर १,३३,५४४ मा सीमित भएको छ ।
आरबीआईले सार्वजनिक र निजी दुवै क्षेत्रका बैंकहरूले विशेषगरी शहर क्षेत्रमा रहेका अफ–साइट एटीएमहरू (बैंक शाखाबाहिर रहेका एटीएम) बन्द गरेको जनाएको छ। यद्यपि, बैंकको स्वामित्वमा रहेका एटीएम घट्दै गए पनि स्वतन्त्र वा सेतो–लेबल एटीएमहरूको संख्या भने बढेको छ। यस्ता एटीएम ३४,६०२ बाट बढेर ३६,२१६ पुगेको छ ।
विशेषज्ञहरूका अनुसार डिजिटल कारोबारलाई प्राथमिकता दिइनु र सञ्चालन लागत घटाउने उद्देश्यले बैंकहरूले आगामी दिनमा पनि एटीएम मेसिनको संख्या घटाउँदै लैजाने सम्भावना धेरै छ ।

Leave a comment