बैंकको खबर । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (ङ)’ निष्कासन गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै १ वर्ष अवधिको ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको जानकारी दिएको हो ।
ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थाले आज (२०८२ पुस २३ गते) दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन् । ऋणपत्र निष्काशन पनि आजै हुनेछ ।
ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ ।
ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले मात्रै आवेदन दिन पाउनेछन् । सहभागी बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोडले भाग जानेगरी आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा खुद तरल सम्पत्ति अनुपातको गणनामा भने समावेश गर्न सकिनेछ।
बोलकबोल स्वीकृत भई पर्याप्त मौज्दात उपलब्ध नगराएमा सम्बन्धित संस्थालाई साढे दुई प्रतिशत हर्जाना तिराउने र छ महिनासम्म बैंकको अन्य बोलकबोल प्रक्रियामा सहभागी हुन नपाउने गरी बन्देज लगाइने केन्द्रीय बैंकले जनाएको छ ।

Leave a comment