काठमाडौं — शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री सुरु गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको थियो ।
जारी पुँजीको १० प्रतिशतले हुने ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावितका लागि छुट्याएको छ । आयोजना प्रभावित बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर १ देखि १० सम्मका स्थानीय बासिन्दा र विद्युत प्रसारण लाइनबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नम्बर २ का बासिन्दाले आईपीओमा आवेदन दिन सक्नेछन् ।
यसपछि बाँकी शेयरमा १० प्रतिशत अर्थात २ करोड २२ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्नेछ ।
आईपीओ निष्काशन आयोजना प्रभावित स्थानीयका लागि माघ २० गतेसम्म र सो अवधिसम्म माग भएजति आवेदन नपरेमा ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
यूतै, वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ ९ गतेभित्र आवेदन दिनुपर्नेछ, सो अवधिमा माग भएजति आवेदन नपरे निष्काशन अवधि माघ २० गतेसम्म लम्बिनेछ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
शिखर पावर डेभलपमेन्टले सञ्चालन गरेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब २४ करोड १८ लाख रुपैयाँ रहेको छ भने विद्युत उत्पादन अनुमतिपत्रको अवधि २९.०८ वर्ष बाँकी छ।

Leave a comment