काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई शेयर निष्काशन गरेपछि अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई वितरण भइसकेको छ । यस्तै कर्मचारीका लागि २० हजार कित्ता र सामुहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता सुरक्षित गरी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता निष्काशन गर्न लागेको हो ।
शेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । निष्काशन बन्द माघ १५ गते हुनेछ । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा निष्काशन अवधी माघ २६ गते सम्म लम्बिनेछ ।
कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ ७१ पैसा रहेको छ । आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष बाँकी रहेको छ।
आयोजनाबाट कम्पनीले २०८१ वैशाख ६ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment