काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तको खुद नाफा ७१.६६ प्रतिशतले बढेर ४ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धिका कारण नाफा बढेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.९६ प्रतिशतले वृद्धि भई १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ। यस्तै, खुद सञ्चालन आम्दानी १९ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १७ करोड ४० लाख रुपैयाँ रहेको थियो। यस अवधिमा संस्थाले २ करोड १९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ।
३४ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङ घटेर ३ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ भने जगेडा कोष १४ करोड ८५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म लघुवित्तले १ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई कुल ४ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २४ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ २२ पैसा रहेको छ।

Leave a comment