काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘एमडीआरटी अचिभर्स अवार्ड २०२६’ भव्य रूपमा सम्पन्न गरेको छ। माघ १३ देखि १५ गतेसम्म पोखरास्थित पोखरा ग्रान्ड होटलमा आयोजित कार्यक्रममा सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा एमडीआरटी २०२६ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मान गरेको हो ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले गरेका थिए। उद्घाटन सत्रमा बोल्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले अन्तर्राष्ट्रिय स्तरको एमडीआरटी मापदण्ड पूरा गरी सम्मानित हुन सफल अभिकर्ताहरूलाई बधाई दिँदै आगामी दिनमा अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न आग्रह गरे। बीमा क्षेत्रमा विश्वस्तरका असल अभ्यासहरूसँग साक्षात्कार गर्न यस्ता कार्यक्रम सहयोगी हुने उनको भनाइ थियो।
विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपालमा पनि परेको उल्लेख गर्दै अग्रवालले कठिन परिस्थितिमा समेत उत्कृष्ट प्रदर्शन गर्न सफल अभिकर्ताहरूको खुलेर प्रशंसा गरे। आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगका बाबजुद बीमा अभिकर्ताको पेशा सुरक्षित रहेको उल्लेख गर्दै उहाँले पेशागत गरिमा कायम राख्दै जीवन बीमाको महत्व आम नागरिकसम्म पु¥याउन आग्रह गरे ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै सीईओ पराजुलीले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको उल्लेख गर्दै आगामी दिनमा बीमाको पहुँच थप विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो। अभिकर्तालाई कम्पनीको मेरुदण्डको रूपमा चित्रण गर्दै उहाँहरूको अथक मेहनतकै कारण नेपाल लाइफ आज अग्रणी संस्थाको रूपमा स्थापित भएको बताउनुभयो। अभिकर्ताहरूको चौतर्फी विकासका लागि कम्पनी सदैव संवेदनशील रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित सबै अभिकर्तालाई बधाई दिँदै आगामी वर्ष अझ बढी संख्यामा एमडीआरटी अभिकर्ता उत्पादन गर्ने लक्ष्य रहेको बताए। बीमालाई नेपालीको घरदैलोसम्म पु¥याउन सम्पूर्ण अभिकर्तालाई एकजुट भएर लाग्न पनि आग्रह गरे ।
पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ता नेपालकै सक्षम र अब्बल रहेको उल्लेख गर्दै बीमितको विश्वास कायम राख्न सबै अभिकर्ता प्रतिबद्ध रहेको बताए । यस्तै, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनी व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्दै अभिकर्ता र बीमितको हितमा कम्पनीले चालेका कदमको प्रशंसा गरे ।

Leave a comment