काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ। यसअघि माघ ६ गतेदेखि खुला भएको उक्त आईपीओमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ।
यद्यपि, मागभन्दा बढी आवेदन परेमा सो अवधिभन्दा अगावै पनि आईपीओ निष्काशन तथा बिक्री बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबर अर्थात ३२ करोड रुपैयाँको ३२ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। त्यसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागिएको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.९२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १३.६४ वर्ष रहेको छ। आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment