काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज माघ २१ गते अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ६८ हजार ९६७ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरुका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment