काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको नाफा केही बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफामा समान्य सुधार देखिएको छ ।
पुससम्म इन्स्योरेन्सले २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन एक वर्ष अघिको तुलनामा ५.३० प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले २५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ११.४० प्रतिशतले वृद्धि भएको छ भने खुद दाबी भुक्तानी ७.७२ प्रतिशतले बढेको छ। त्यस्तै, कुल आम्दानी ७.३४ प्रतिशत र कुल खर्च भने ८.४० प्रतिशत बढेको छ ।
नाफा बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। पुस मसान्तसम्म प्रतिशेयर आम्दानी ४ रुपैयाँ १८ पैसाले घटेर १० रुपैयाँ ५४ पैसामा सीमित भएको छ। यस्तै, कम्पनीको मूल्य–आम्दानी अनुपात ४४.९४ गुणा र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७३ पैसा कायम भएको छ।
इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ११ लाख रुपैयाँ रहेको छ। साथै, कम्पनीसँग १० करोड ९९ लाख रुपैयाँ शेयर प्रिमियम, ३१ करोड ३८ लाख रुपैयाँ महाविपत्ती कोष, ९१ करोड ९० लाख रुपैयाँ रिटेन्ड अर्निङ तथा ९ करोड ४० लाख रुपैयाँ अन्य इक्विटी रहेको छ।

Leave a comment