बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधवार एक सूचना जारी गर्दै निक्षेप सङ्कलन उपकरण मार्फत उक्त रकम सङ्कलन गर्न लागेको जानकारी दिएको हो।
इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज (२०८२ माघ २८गत)े दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोलमा भाग लिन सक्नेछन्। यस निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८२ चैत १५ गते गरिनेछ।
राष्ट्र बैंकका अनुसार न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमसम्म, ५ करोडले भाग जाने गरी बोलकबोल गर्न सकिनेछ। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ र सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। समान दर प्रस्ताव भएमा रकम ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिनेछ।
यस उपकरणमार्फत संकलित रकम अनिवार्य नगद मौज्दात मा गणना गर्न पाइने छैन। तर, वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने समावेश गर्न सकिने व्यवस्था गरिएको छ। साथै, उक्त निक्षेपलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ।
राष्ट्र बैंकले यसअघि नै स्पष्ट पारेको छ कि सङ्कलित निक्षेप रकमको भुक्तानी अवधि अगावै फिर्ता हुने छैन । बोलकबोलमा सफल भएका संस्थाहरूको खातामा पर्याप्त मौज्दात नभएमा उनीहरूलाई कालोसूचीमा राखी आगामी बोलकबोलहरूमा सहभागी हुन प्रतिबन्ध लगाइने चेतावनी समेत दिइएको छ।

Leave a comment