काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ करोड ४६ लाख रुपैयाँको तुलनामा २०.९१ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी २५.२८ प्रतिशतले घटेको छ भने कुल आम्दानीमा १५.८१ प्रतिशतको कमी आएको छ। तर खर्चमा उल्लेख्य कटौती गरेकाले नाफामा वृद्धि सम्भव भएको कम्पनीले जनाएको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च २४.६१ प्रतिशतले घटेको छ।
नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि सामान्य रूपमा वृद्धि भएको छ। समीक्षा अवधिमा ५० पैसाले बढेर ४ रुपैयाँ ६९ पैसा पुगेको छ। पुस मसान्तसम्म कम्पनीको मूल्य–आम्दानी अनुपात २९१.७१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ७१ पैसा रहेको छ।
७५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ५८ लाख रुपैयाँ रहेको छ।

Leave a comment