अन्तर्राष्ट्रिय । विश्वकै सबैभन्दा लोकप्रिय भिडियो साझेदारी प्लेटफर्म युट्युब बुधबार बिहान केही समयका लागि अवरुद्ध भयो । आउटेज ट्र्याकिङ वेबसाइट डाउनडिटेक्टरका अनुसार बिहान ६ः१५ बजेदेखि करिब ८ बजेसम्म विश्वभरका लाखौं प्रयोगकर्ताले युट्युब प्लेटफर्ममा पहुँच पाउन समस्या भोगिरहेका थिए ।
मोबाइल एपमा बढी समस्या
सबैभन्दा ठूलो समस्या युट्युबको मोबाइल एपमा देखिएको थियो। प्रयोगकर्ताहरूले एप खोल्दा “केही गलत भयो” भन्ने सन्देश देखिरहेका थिए। दुई–तीन पटक रिफ्रेस गरेपछि भिडियोहरू देखिन थाले पनि सेवा पूर्ण रूपमा सुचारु थिएन। यद्यपि, युट्युबको वेबसाइट भने अधिकांश प्रयोगकर्ताका लागि पहुँचयोग्य नै थियो।
हजारौं प्रयोगकर्ताको गुनासो
डाउनडिटेक्टरका अनुसार अमेरिकामा करिब २ लाख ८३ हजार प्रयोगकर्ताले युट्युब डाउन भएको रिपोर्ट गरेका थिए। दक्षिण एशियामा पनि भारत, बंगलादेश, श्रीलंका, नेपाल लगायत देशका प्रयोगकर्ताले पनि गुनासो दर्ता गराएका थिए ।
सिफारिस प्रणालीमा त्रुटि
युट्युब टोलीले बिहान सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा सेवा अवरोध भएको जानकारी दिएको थियो । टोलीले लेखेको थियो, ‘यदि तपाईंलाई हाल युट्युब प्रयोग गर्न समस्या भइरहेको छ भने, तपाईं एक्लो हुनुहुन्न। हाम्रो टोलीले यस विषयमा अनुसन्धान गरिरहेको छ र कुनै पनि अद्यावधिकहरू यहाँ साझा गर्नेछौं।’
पछिल्लो अपडेटमा युट्युबले आफ्नो सिफारिस प्रणालीमा आएको समस्याका कारण गृहपृष्ठ, युट्युब एप, युट्युब म्युजिक र युट्युब किड्समा भिडियोहरू नदेखिएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार गृहपृष्ठको समस्या समाधान भइसकेको र पूर्ण समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको जानकारी दिएको थियो ।
ज्ञान बाकसः आउटेज भनेको के होर ?
इन्टरनेट, एप वा वेबसाइटजस्ता सेवा अचानक काम गर्न बन्द हुनु वा केही समयका लागि अनुपलब्ध हुनु नै ‘आउटेज’ हो। यस्तो अवस्था केही मिनेटदेखि घण्टासम्म रहन सक्छ। सर्भर विफलता, नेटवर्क समस्या, मर्मतसम्भार, खराब मौसम, हार्डवेयर बिग्रनु वा अत्यधिक ट्राफिकजस्ता कारणले आउटेज हुन सक्छ।

Leave a comment