काठमाडौँ — सरकारले अनलाइन सट्टेबाजी नियन्त्रण गर्न कडा कदम चाल्दै सात हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट बन्द गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गरी ती प्लेटफर्महरू बन्द गरेको हो।
प्राधिकरणका अनुसार पछिल्लो एक सातामा मात्रै सट्टेबाजीसम्बन्धी ५० भन्दा बढी गुनासा टेलिफोन, इमेल र सन्देशमार्फत प्राप्त भएका छन्। ती सबै उजुरीलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको जनाइएको छ।
मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीअन्तर्गत २४ घण्टाभित्र सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट बन्द गर्ने निर्णयअनुसार यो कदम चालिएको हो।
कानुनी रूपमा पनि नेपालमा सट्टेबाजी निषेध छ। मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्न वा गराउन पाइँदैन। उल्लङ्घन गरेमा प्रयोग भएको रकम जफत हुनुका साथै एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
त्यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले जुवा वा सट्टेबाजी प्रोत्साहन गर्ने विज्ञापनसमेत निषेध गरेको छ। यसविपरीत कार्य गरेमा पनि समान सजायको व्यवस्था छ।
सरकारले सर्वसाधारणलाई यस्ता एप तथा वेबसाइट प्रयोग नगर्न आग्रह गर्दै अनधिकृत रूपमा सञ्चालन वा प्रयोग गरेको पाइएमा कडा कारबाही हुने चेतावनी दिएको छ। साथै, शङ्कास्पद प्लेटफर्मबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न अनुरोध गरेको छ।

Leave a comment