Home अर्थतन्त्र किन बढीरहेको छ अमेरिकी डलरको भाउ ? नेपाली मुद्रा निरन्तर कमजोर
अर्थतन्त्रबैंक वित्त

किन बढीरहेको छ अमेरिकी डलरको भाउ ? नेपाली मुद्रा निरन्तर कमजोर

Share
Share

२०८१ पुस ५ गते शुक्रबार । 

बैंकको खबर । नेपाली बजारमा अमेरिकी डलरको मूल्यले फेरिपनि नयाँ रेकर्ड बनाएको छ । डलरको मूल्यले पुस २ दिनदेखि दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । 

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर १३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा तोकेको छ । 

डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्द नेपालमा पनि त्यसको असर परेको छ । किनभने भारतीय रुपैयाँ (भारु)सँग नेपाली रुपैयाँ (नेरु)को स्थिर विनिमय दर छ । यहीकारण भारु कमजोर बन्दा नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । 

डलर महँगीदा अर्थतन्त्रमा कस्तो असर पर्छ ?
डलर महँगो हुने वित्तीकै नेपालका लागि समान आयात महँगो हुन्छ । विदेश भ्रमण र अध्ययन पनि महँगो बन्छ । सरकारलाई वैदेशिक ऋणको भार बढ्छ । तर रेमिट्यान्स बढी आउन सक्छ, नेपाल घुम्न आउने विदेशी पर्यटकले बढी पैसा खर्च गर्न सक्छन् । निर्यातकर्तालाई फाइदा पुग्छ । 

डलरको मूल्य बढ्दा अर्थतन्त्रमा हुने बेफाइदा
आयात

नेपालको अर्थतन्त्र आयातमा निर्भर छ । निर्यात भन्दा आयात १० गुणा बढी छ । त्यसैले डलरको भाउ बढ्ने बित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वतः बढ्छ । ब्यापार घाटा झन बढेर जान्छ । ब्यापार घाटा बढ्दाको अर्को नराम्रो असर चालु खाता तथा शोधनान्तरमा पर्छ । विदेशी मुद्राको सञ्चिति पनि घट्छ ।

मूल्यवृद्धि (महँगी)
डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन्छ । सियोदेखि गाडीसम्म आयातमा निर्भर नेपालको निम्ति यो ठूलै बेफाइदा हुन्छ । नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ । तर भारतमै पनि भारु अवमूल्यन हुँदा हुने महँगी यता सर्न सक्छ । इन्धनको मूल्य थप बढेर जान्छ । 

विदेश भ्रमण र विद्यार्थी शुल्क
नेपालबाट हजारौं विद्यार्थीहरु विदेशमा पढ्न गएका छन् । उनीहरुले त्यहाँ विदेशी मुद्रामा शुल्क बुझाउनु पर्छ । डलरको भाउ बढ्ने वित्तीकै ति विद्यार्थीको परिवारमाथि भार पर्छ । वैदेशिक भ्रमणमा जाने नेपालीहरुले पनि बढी पैसा खर्च गर्नुपर्छ । नेपालबाट विदेश भ्रमणमा जाने नेपालीहरुको संख्या पनि निकै धेरै छ । डलरका लागि नेपाली रुपैयाँ धेरै तिर्नुपर्ने हुँदा विदेशमा पुगेका नेपालीको पढाइ शुल्क, कोठा भाडा र खाना सबै कुरा महँगो हुन्छ । 

सरकारलाई ऋणको भार बढ्छ
नेपालले विदेशी मुद्रामा लिएको ऋणको परिमाण डलरको भाउ बढेसँगै बढ्छ । विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनेर बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ । यसबाट सरकारलाई अप्ठेरो पर्न सक्छ ।
विदेशी लगानीबाट सञ्चालन भएका आयोजनाको लागत पनि बढ्न जान्छ । जसबाट अर्थतन्त्र प्रभावित हुन्छ । 

डलरको मूल्य बढ्दा अर्थतन्त्रमा हुने फाइदा

डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन हुँदा केही फाइदा पनि हुन्छ । वस्तु निर्यात, पर्यटन क्षेत्र, रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ ।  

निकासी
नेपाली रुपैयाँको भाउ सस्तो हुँदा नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा सस्तो पर्न जान्छ । यसले निर्यातलाई टेवा पुग्न सक्छ । तर नेपालको निर्यात सीमित भएकाले यसबाट निकासीकर्तालाई फाइदा पुग्ने बाहेक अर्थतन्त्रमा धक्का लाग्ने गरी फाइदा पुग्ने देखिदैन । निकासीको परिमाण र वस्तु सीमित भएकाले यसबाट हुने फाइदा पनि सीमित नै हुन्छ ।

पर्यटनमा फाइदा
विदेशी मुद्राको भाउ बढ्दा नेपालको पर्यटन क्षेत्रको आम्दानी बढ्छ । नेपाली मुद्रा सस्तो हुँदा विदेशी पर्यटकलाई नेपाल घुम्न आउन सस्तो पर्छ र खर्चको हिसाबले प्रोत्साहन मिल्छ । 

पर्यटन क्षेत्रको योगदान नेपाली अर्थतन्त्रमा राम्रै रहेकाले अर्थतन्त्रमा यसले राम्रै असर पार्न सक्छ । नेपालका लागि पर्यटन विदेशी मुद्रा आर्जनको स्रोत पनि हो । यसले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा राम्रै फाइदा पु९याउँछ । 

विदेशी लगानीकर्तालाई फाइदा
नेपालमा लगानी गर्न खोज्ने विदेशी लगानीकर्तालाई पनि कमजोर नेपाली मुद्राले केही प्रोत्साहन गर्न सक्छ । 

रेमिट्यान्स आप्रवाहमा फाइदा
लाखौँ नेपालीहरू वैदेशिक रोजगारीमा छन् । धेरै नेपालीले विदेशमा कमाएको पैसा महिनैपिच्छे नेपाल पठाउँछन् । उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ । रेमिट्यान्स आयमा हुने वृद्धिले समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ ।

अन्य मूद्राको विनिमयदर

आज साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ। यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ।

राष्ट्र बैंकले आज (२०८१ पुस ५ गते शुक्रबार)का लागि युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २६ पैसा तोकेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४० पैसा र बिक्रीदर ९४ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४५ पैसा निर्धारण गरेको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा तोकेको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०७ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ३४ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

रास्वपा महाधिवेशनले भरियो चितवन, असारमै होटल व्यवसायमा ‘सिजन’को रौनक

चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ...

अक्करे भिर छिचोल्दै गुर्जामा पुग्यो सडक, म्याग्दीका सबै ४५ वटै वडा अब सडक सञ्जालमा

म्याग्दी । अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies