Home बैंक वित्त सिटिजन्स बैंकको वित्तीय विवरण : नाफा घट्यो, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा
बैंक वित्तरिपोर्ट तथा सूचना

सिटिजन्स बैंकको वित्तीय विवरण : नाफा घट्यो, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा

Share
Share

बैंकको खबर । सिटिजन्स बैंकको आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८०को तुलनामा २७.९७ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ खुद आम्दानी आर्जन गरेको थियो । 

बैंकको खुद ब्याज आम्दानी घटेको र इम्पेरिमेन्ट चार्जमा बढी रकम छुट्याउनु पर्दा खुद नाफा प्रभावित हुन पुगेको देखिन्छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५५ करोड रुपैयाँ बढी पैसा इम्पेरिमेन्ट चार्ज वापत छुट्याएको छ । बैंकको निष्क्रिय कर्जा बढेपछि इम्पेरिमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

निक्षेप तथा कर्जा
गएको आर्थिक वर्षमा बैंकको निक्षेप बढेको छ । २०८० असार मसान्तमा एक खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप रहेकोमा २०८१ असार मसान्तसम्म २० अर्ब ३७ करोड रुपैयाँ बढेर १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । 

एक वर्षमा बैंकले १३ अर्ब ५० करोड रुपैयाँ कर्जा बढाउन सकेको छ । २०८० असारमा १ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकामा २०८१ असारसम्म कर्जा रकम बढेर १ खर्ब ५३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । 

जगेडा कोष
१४ अर्ब २० करोड नौ लाख ७४ हजार छ रुपैयाँ सेयर पुँजी रहेको बैंकको जगेडा कोषमा सात अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । 

वितरणयोग्य मुनाफा
बैंकको वितरण योग्य मुनाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । २०८१ असार मसान्तमा बैंकको वितरण योग्य मुनाफा ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ छ । जुन एक वर्ष अघि २०८० असार मसान्तमा ८४ करोड ६९ लाख ८९ हजार रुपैयाँ थियो । गत असारमा बैंकको प्रतिसेयर वितरणयोग्य मुनाफा चार रुपैयाँ ३४ पैसा देखिएको छ । 

वित्तीय सूचकहरु
बैंकको नाफा घटेपछि प्रतिसेयर आम्दानी पनि घटेको छ । आर्थिक वर्ष २०७९/८०को तुलनाामा आर्थिक वर्ष २०८०/८१मा प्रतिसेयर आम्दानी तीन रुपैयाँ ६७ पैसा घटेर नौ रुपैयाँ ४५ पैसामा झरेको छ । आर्थिक वर्ष २०७९/८०मा प्रतिसेयर आम्दानी १३ रुपैयाँ १२ पैसा थियो ।

एक वर्षमा बैंकको निष्क्रिय कर्जा ०.६८ प्रतिशत विन्दुले बढेको छ । एक वर्षअघि ३.३९ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा गत असारसम्म बढेर ४.०७ प्रतिशत कायम भएको छ । 

बैंकको प्रतिसेयर कुल सम्पत्ति मूल्य १ हजार ५ सय ६७ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै मूल्य आम्दानी अनुपात २०.४७, तरलता अनुपात २८.०६ प्रतिशत र प्रतिसेयर नेटवर्थ एक सय ५१ रुपैयाँ ८१ पैसा कायम भएको छ । 

विश्लेषण

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी, अन्य सञ्चालन आम्दानी, गैह्र सञ्चालन आम्दानीमा साथै अन्य सञ्चालन खर्च र परिशोधन तथा हृास खर्चमा केहि वृद्घिका साथै कर्मचारी खर्च, खुद ब्याज आम्दानी, खुद व्यापारिक आम्दानीमा आएको कमी तथा कर्जा नोक्सानी व्यवस्थामा भएको अत्यधिक वृद्घिका कारण खुद नाफामा गिरावट आएको देखिन्छ । 

स्थानीय तहमा खोलिएका शाखाका साथसाथै शाखा रहित बैंकिङ, विस्तारित काउन्टर, डिजिटल सेवा सुविधाका विभिन्न माध्यमबाट ग्रामिण क्षेत्रमा बंैकिङ पहुँच वृद्घि गर्दै लैजाने र ग्राहकमुखी नयाँ सेवा तथा सुविधामा आवश्यकता अनुसार वृद्धि गर्ने र ग्राहक सेवा सुविधा अझ चुस्त दुरुस्त र स्तरीय बनाउँदै लगिने योजना रहेको बैंकले उल्लेख गरेको छ । हालको विवरण अनुसार बैंकको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक असर पार्न सक्ने अवस्था नरहेको बैंकको विश्लेषण छ ।

समस्या र चुनौती
बैंकले सञ्चालन खर्च बढ्दै जानु, निक्षेप–कर्जाको व्याजदरमा भएको उतार–चढाव, आय विविधिकरण, कर्जाको गुणस्तर अभिबृद्धि र निष्कृय कर्जाको व्यवस्थापन, उपयुक्त लगानीका क्षेत्र पहिचान तथा शाखाहरुको वृद्घि सँगसँगै सञ्चालन जोखिम व्यवस्थापन र सूचना प्रविधिमा हुने अन्तरनीहित जोखिमहरुको पहिचान र व्यवस्थापन जस्ता आन्तरिक समस्या तथा चुनौती रहेको अवस्थामा दीर्घकालिन रुपमा बैंकका समग्र सूचकहरुलाई सुधार गर्दै जाने कार्य चुनौतीपूर्ण रहेको उल्लेख गरेको छ । 

यस्तै बजारमा समग्र आर्थिक गतिविधिमा सुस्तता आएका कारण कर्जाको किस्ता तथा पाकेको व्याज असुलिमा समस्या देखिएको र त्यसबाट निष्कृय कर्जा बढ्नुका साथै कर्जा नोक्सानी व्यवस्था बढ्न जाने हुँदा कर्जा जोखिम व्यवस्थापन चुनौतीपूर्ण रहेको बैंकले उल्लेख गरेको छ । 

बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुनु, बंैकिङ क्षेत्रबाट दक्ष जनशक्तिको पलायन, सूचना प्रविधिका क्षेत्रमा देखा परेका नयाँ किसिमका चुनौतीहरु, सरकारी खर्चमा कमी आउनु, कर्जा असुलीका कानुनी तथा सामाजिक जटिलता लगायत प्रमुख बाह्य समस्या देखा परेको पनि बैंकले वित्तीय विवरणमा उल्लेख गरेको छ । यस्ता समस्या विद्यमान रहेको अवस्थामा बैंकको कारोवार दिगो रुपमा विस्तार गरी सम्पत्तिको गुणस्तर कायम राखि लगानीकर्तालाई उचित प्रतिफल दिने कार्य चुनौतीपूर्ण रहेको उल्लेख गरेको छ ।

रणनीति
बैंकले ग्रामीण तथा दुर्गम क्षेत्र र बैंकिङ सेवाबाट वञ्चित व्यक्ति तथा संघ–संस्थालाई बैंकको दायरामा ल्याई निक्षेप परिचालन बढाउनुका साथै बैंकका अन्य सेवाहरुको आक्रामक रुपमा बजारीकरण गर्दै व्यवसाय विस्तारमा लाग्ने, आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रुपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुन नपर्ने गरी बैंकिङ सुविधा प्रदान गर्ने, समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरुको विकास गर्ने, विभिन्न व्यवसायिक संघ–संस्था लगायत व्यक्तिगत ग्राहकहरुसँगको सम्बन्ध सुमधुर बनाउनका लागि छिटो एवं छरितो तवरले ग्राहकमुखी सेवाहरु उपलब्ध गराउने, बैंकको समग्र जोखिम व्यवस्थापनको आधारभूत पक्षहरुलाई मजबुत बनाई उल्लिखित चुनौतीको समाधान गर्ने र बैंकको आन्तरिक कार्य प्रणाली स्वचालित तथा कागज रहित बनाई खर्च मितव्ययिता मार्फत निर्धारित लक्ष्य प्राप्त गर्ने तथा ग्राहक सेवा सुविधा चुस्त दुरुस्त बनाउनेरणनीति अवलम्बन गरेको छ । साथै बैंकले निष्कृय कर्जा तथा पाकेको ब्याज तथा कर्जाको भाका नाघेका ऋणीहरुकोउचित व्यवस्थापन र गैर बैंकिङ सम्पत्ति बिक्री गरी वितरणयोग्य मुनाफा वृद्धि गर्ने नीति लिएको जनाएको छ ।

📎 Attached Document

📄 Attached File: document_1379_सटजनस_बकक_वततय_ववरण.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies