काठमाडौँ । हालैको जेनजी पुस्ताको आन्दोलनका क्रममा भत्किएका संरचनाहरूको मूल्यांकन र पुनःनिर्माणका लागि नेपाल इञ्जिनियर्स एशोसिएसनले निःशुल्क प्राविधिक सहयोग दिने भएको छ।
एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार जारी गरेको विज्ञप्तिमा क्षतिग्रस्त भौतिक संरचनाहरूको निरीक्षण, जोखिम मूल्यांकन, उपयोगयोग्यता जाँच र पुनःनिर्माण योजना बनाउन आवश्यक सम्पूर्ण प्राविधिक सेवा निःशुल्क उपलब्ध गराइने उल्लेख छ।
उनका अनुसार, २०७२ सालको भूकम्पपछि पुनःनिर्माणमा देखाइएको इञ्जिनियरहरूको योगदानलाई निरन्तरता दिने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो।
एशोसिएसनले सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र नेपाल बार एशोसिएशनका भवनहरूको प्रारम्भिक निरीक्षण सुरु गरिसकेको छ। आगामी दिनमा देशभरका अन्य क्षतिग्रस्त संरचनाहरूको विस्तृत अध्ययन, सम्भाव्यता मूल्यांकन र पुनःनिर्माण कार्य अगाडि बढाइने पनि एशोसिएसनले जनाएको छ ।
एशोसिएसनले सम्पूर्ण इञ्जिनियरलाई यो अभियानमा सहभागी हुन आह्वान गर्दै प्रभावित संरचनाहरूलाई सुरक्षित र दिगो बनाउने प्रतिवद्धता जनाएको छ ।
