काठमाडौं । शेयरबजारमा आज तीनपटकसम्म नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । नेप्से ६ प्रतिशत अर्थात १६०.३३ अंकले घटेर बन्द भयो । आजको कारोबार पछि नेप्से परिसूचक २५११.९१ विन्दुमा झरेको छ ।
जेनजी आन्दोलनबाट निजी र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएपछि आज पहिलोपटक बजार खुलेको थियो । जसलाई लगानीकर्ताले सकारात्मक रुपमा लिएनन र शेयरको बिक्री बढाए । बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रैक लाग्यो र आजका लागि कारोबार स्थिगित भयो ।
कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेको थियो । त्यसपछि २० मिनेट स्थगित भइ खुलेको कारोबारमा एक मिनेटमै थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रैक लागेको थियो । त्यसपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ बजेर ४ मिनेटमा तेस्रो पटक खुलेको कारोबार त्यसपछिको दुई मिनेटमा थप १ प्रतिशत अर्थात कुल ६ प्रतिशत गिरावट आएपछि नेप्सेले आजका लागि कारोबार स्थगित गरेको छ ।
यसदिन कुल ७२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भयो । कारोबारमा आएका २२६ कम्पनीमध्ये २१७ वटाको शेयरमूल्यमा गिरावट आयो । ९ वटा कम्पनीका शेयरधनीले भने आज पनि कमाएका छन् ।
