काठमाडौं। वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बिहीवार ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत अनलाइन बोलकबोल प्रणाली प्रयोग गरी यो रकम संकलन गर्ने जनाएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले आफ्रले दिन चाहेको निक्षेप र सोको ब्याजदर तोकेर बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
निक्षेप १० दिनका लागि संकलन गर्न लागेको हो । सावाँ तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यस्तै बैंकहरुसँग नौ खर्ब रुपैयाँ भन्दा धेरै लगानीयोग्य पैसा थुप्रिएको छ । देशमा लगानीको वातावरण बन्न नसकेपछि निजी क्षेत्रबाट कर्जाको माग न्यून भएकाले प्रणालीमा अधिक तरलताको स्थिति कायम रहेको हो ।
दीर्घकालीन तरलता व्यवस्थापन र ब्याजदर सन्तुलनका लागि राष्ट्र बैंकले गतवर्ष देखि नै पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
