काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान संविधानलाई नेपाली जनताको भाग्य र भविष्यको मार्गदर्शन गर्ने महत्वपूर्ण दस्तावेजको रूपमा व्याख्या गरेकी छन्। संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधान दिवस केवल उत्सव मनाउने दिन मात्र नभई संघीय गणतन्त्रको उपलब्धि र चुनौतीहरूको मूल्यांकन गर्ने महत्वपूर्ण अवसर पनि भएको बताइन्।
उनले अहिलेको सन्दर्भमा १० वर्षमा देशमा केके उपलब्धि भए, कहाँ कमजोरी भयो भन्ने कुराको समीक्षा हुनुपर्नेमा जोड दिइन । उनले भनिन्, ‘१० वर्षमा देशमा के के उपलब्धि भए, के के कमजोरी भए भन्ने कुराको समिक्षा हुनुपर्दछ । सरकारबाट भएका कमीकमजोरीका कारण जेनजी आन्दोलनको जन्म भएको र भ्रष्टाचार, सुशासन, विकास र न्यायमा चुकेका कारण युवाहरु सडकमा आएका हुन् ।’
उनले निर्वाचन तोकिएको समयमा सम्पन्न गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने सरकारको स्पष्ट प्रतिबद्धता दोहोर्याइन्। साथै, आन्दोलनका क्रममा भएका क्षतिहरूको पुनर्निर्माण, निजी क्षेत्रको मनोबल वृद्धि र शासन सुधारमा सरकार जिम्मेवार रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले सरकार आफ्नो दायित्वप्रति प्रतिबद्ध रहेको र आम जनता पनि आफ्नो कर्तव्यमा सचेत हुने विश्वास व्यक्त गरिन्।
