काठमाडौँ । नेपाल आयल निगमले आफ्नो स्थापना भएको ५६ वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ। यस अवसरमा निगमले उपभोक्ता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार तथा शुभकामना व्यक्त गरेको छ।
वार्षिकोत्सवकै अवसरमा निगमको नवनिर्मित केन्द्रीय कार्यालय भवनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले गरेका छन्। उद्घाटन समारोहमा मन्त्री सिन्हाले नयाँ भवनले निगमको सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले निगमको स्थापना कालदेखि हालसम्मको यात्रा, उपलब्धि र भावी योजनाबारे जानकारी गराए। उनले नेपाल आयल निगम केवल पेट्रोलियम पदार्थ आपूर्ति गर्ने संस्था मात्र नभई देशको अर्थतन्त्र, जनजीवन र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील संस्था भएको उल्लेख गरे।
डा. भट्टका अनुसार नयाँ केन्द्रीय कार्यालय भवन सञ्चालनमा आएपछि सेवा व्यवस्थापन, प्रशासनिक कार्य र उपभोक्ता सेवा अझै सुदृढ हुने अपेक्षा गरिएको छ। यसले संस्थागत सुधार, पारदर्शिता र कार्यक्षमता अभिवृद्धिमा सहयोग पुग्ने उनले बताए।
निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको सहज, सुरक्षित र भरपर्दो आपूर्ति सुनिश्चित गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता दोहोर्याएको छ। साथै मूल्य प्रणालीलाई पारदर्शी बनाउँदै भण्डारण क्षमता विस्तार र आपूर्ति प्रणाली सुदृढीकरणमा ध्यान केन्द्रित गरिने जनाएको छ।

Leave a comment